जक्सन फिचरविचार / अन्तर्वार्ता

लखर लखर संघको नाउँमा

लकडाउन केवल मजदुरलाई दुःख दिनेबाहेक अरु माखो पनि मार्ने खालको भएन ।

तिलक खत्री

रिसानी माफ होस् । एउटा कुरा प्रतिपक्ष दलका नेता देउवा ज्यूको भाषामा सुरुमै भन्छु है– ‘ऐ…. केपी ओली ज्यू… ऐ ओली… अहिलेको लकडाउन केवल मजदुरलाई दुःख दिनेबाहेक अरु माखो पनि मार्ने खालको भएन ।’

लकडाउन केका लागि ?

अवश्य पनि, भाइरसबाट बच्न र बचाउनको लागि हो ।

राजमार्गमा मजदूरलाई शास्ती दिएर मात्रै भाइरस रोकिन्छ त ?

लकडाउनको नियमभित्र पेट कसरी भर्ने भन्ने उप-नियम छैन । आज्ञाकारी भएर सरकारको आदेश र आत्म-अनुशासनको पालना गरेर घरमै बसेका बासिन्दालाई बाँच्न पर्दैन ? हातमुख जोड्न पर्दैन ?

प्रत्येक घरबाट दैनिक मान्छेहरू बाहिर निस्केर पसल पुग्छन् खाद्य सामग्री किन्नका लागि । दैनिक पसलेलाई भेट्छन् । पसलको बाहिर लक्ष्मण रेखारूपी डोरी लगाइएको छ , ३/४ मिटरको फरकमा घेरो लगाइएको छ । डोरीभित्र मान्छे तनक्क तन्कन्छन् । घेरो नछोइकन जोगिएर पालो कुर्छन् । मानौँ, भाइरसबाट बच्न उनीहरुलाई कालो डोरी र सेतो घेरोले जादू चलाएको छ । सुरक्षा दिएको छ ।

तर खाद्य वस्तु र नगदी नोट हात-हातबाट साटासाट हुन्छ । यदि निर्जीव भनिएको त्यो ‘बोसिय’ ‘फ्याटिय’ जिनीस टाँसिएको रैछ भने भाइरस सजिलै यत्रतत्र सर्वत्र साटासाट भएको सामान्य ज्ञान सर्वज्ञानी ओली सरकारलाई अवगत नै होला ।

कि त पूरै खुल्ला गरौँ । हैन भने, भोक र शोकलाई पटुकीले बाँधेर राजमार्गमा भोकै हिँडेका मजदुरलाई मात्रै दुःख नदिऔँ ।

रवि लामिछानेको भाषामा ‘लखर लखर संघ’ का अनन्य अध्यक्ष र असंख्य सदस्यहरूलाई ‘लखर लखर संघ’ को सदस्यता के कसरी छुट्याउन सकिन्छ, त्यतातिर बेलैमा ध्यान दिऔँ । लखर लखर क–कसले गर्न पाउने र कसले हात–मुख नजोडीकन हात बाँधेर घरमै बस्नु पर्ने भन्ने अन्तर विभाजन यो कम्युनिष्ट सरकारले चाँडो गरोस् । औपचारिक पहिचान गरोस् । ‘हुने खाने’ र ‘हुँदा खाने’ बिचको वर्ग विभाजन पढेर र पढाएर सत्तामा पुगेको सरकारले को को ‘लखर लखर हिड्ने’ र को को घरमै थन्किने भन्ने पहिचानसहित घोषणा नै गर्नुपर्ने देखिन्छ। व्यापक भ्रम पैदा भो सरकार ! लखर लखर संघ र संघका सदस्यहरुलाई सबैले चिन्ने बुझ्ने गरी सबैमाझ परिचय होस् ।

त्यही लखर लखर संघको संरक्षक सरकारलाई लागेको छ– लकडाउनले गर्दा नेपालमा कोरोना भाइरस फैलन पाएन !

यो किमार्थ सत्य होइन । कि पशुपतिनाथको कृपाले अहिलेसम्म संक्रमण भएका मान्छे नेपालमा प्रवेश नै गरेका छैनन् भन्नु पर्यो, कि त नेपाल आउने बित्तिक्कै हिमाली हावा र अदुवाको झोलले किटाणु मरे भनेर भन्नु पर्यो ।

कछुवाको गतिमा भएको सरकारी परीक्षण प्रकिया एउटा औपचारिकतामात्रै भयो, प्रभावकारी भएन । पोजिटिभ र नेगेटिभको संख्यमा समेत जनताको विश्वास छैन । कास्कीमा पोजेटिभ भएको स्वाब थानकोट कटेपछि के कारणले नेगेटिभ हुन्छ ? लाग्छ, पशुपतिनाथले कल्याण गरिरा’छन् !

लकडाउनको लौरो तेर्साएर मदजुर मार्न पाइँदैन । मजदुरलाई मात्रै राक्ने तरिकामा परिवर्तन जरुरी छ । साँप पनि मर्ने लठ्ठी पनि नभाँचिने गरी । मेरो ४ सुझाव यस प्रकार छन्:

क) किनमेल गर्नको लागी लकडाउन अवधीभर घरको १ जना सदस्यमात्र बाहिर निस्कने । उक्त व्यक्तिले समान किनेर ल्याउँदा सावधानीपूर्वक समान खरिद गर्दा सकेसम्म चाँडै नकुहिने खाद्यान्नहरू कम्तिमा १५ वा २० दिन पुग्नेगरी खरिद गर्ने । १ पाउ आलु किनेर ल्याएको भोलीपल्ट फेरी लखर लखर संघको सदस्यता नवीकरण गर्न नगई नहुने झैं गरी १ पाउ आलु किन्ने हो भनेर नसोच्ने ।

ख) प्रत्येक वडाले निम्नवर्गीय परिवारको पहिचान गरी कम्तिमा १ महिनालाई पुग्ने महत्वपूर्ण खाद्यान्न सम्बन्धित घरमै होम डेलिभरी गर्दिने । ३० वा ४० जना लखर लखर संघका कार्यकर्ता जम्मा गरेर आफुलाई भोट हालेको हो हैन भनेर कानेखुसी गर्दै माता गढीमाईको मेलाभन्दा ठुलो मेला लगाएर १० बर्षपछि भेट भएको घनिष्ठ मित्रझैँ नारिएर फोटोसेसन नगर्ने।

ग) प्रत्येक गल्लीमा कोरोना भाइसर ट्रकभन्दा ठुलो हुन्छ यो त सवारी साधन चढेर मात्र आउने हो कि झैँ गरी ठुलाठुला बार नलगाउने। टोलको ठूलो माया उर्लेर आएको हो वा टोलसुधार समितिको नाम स्थापित गराउने हुटहुटी चलेको हो भने आफ्नो टोलमा छिर्ने ठाउँमा टोलसुधार समितिको मान्छे बसेर के कस्तो मान्छे के कति कामले को टोलभित्र छिर्दै छ निगरानी राख्ने । सार्वजनिक बाटो सरकारले तपाईं हामी कसैलाई पनि न त पुरस्कारमा दिएको हो, न त अपुतालीमा पाइएक‍ो हो । सार्वजनिक बाटोमा इमान्दारीपूर्वक सबै हिँड्न पाउनु पर्छ । कसैक‍ो घरभित्र छिरेर अँगालो नै पो हाल्न पाइँदैन ।

घ) अब प्रत्येक नगरपालिका वा जिल्ला हेरेर रेड जोन, ग्रिन जोड छुट्टाएर उक्त क्षेत्रभित्र ओहोरदोहोरका साथै दैनिकी कामकाज खुला गर्ने। एउटा ठाउँमा समस्या र जटिलतालाई आधार मानेर सबै ठाउँमा उस्तै कडाईका साथ आधारभूत आवागमन र आवश्यक खरिदबिक्री रोकछेक नगर्ने ।

रोग भन्दा ठूलो ‘भोक’ हो । सम्भावित रोगबाट बच्न बचाउन जनतालाई भोकमरीमा मार्ने उद्योग चलाउनु अपराधजन्य छ। मान्छे रोगले होइन, भोकले मर्न पर्यो भने सरकारलाई सात जुनीको पाप लाग्नेछ ।

अन्तमा सरकारको नियत राम्रो भएपनि सरकारसँग जुँका र जुम्राझै टाँसिएर बसेका ‘शकुनी’ प्रवृत्तिका आसेपासे र महामारीलाई अवसर ठानेर कालोबजारीको जालो थापेका जलारीबाट बेलैमा बचेर जनताको हितमा सरकार र मातहातका लखर लखर संघ लागोस् । जनआक्रोशकै कारण सरकारको अन्त्य अल्पायुमा नहोस्, शुभकामना !

सम्बन्धित खबर

Close