Headlines with imageविचार / अन्तर्वार्ता

‘लकडाउन’ कहिलेसम्म ? नेपालको तयारी कस्तो छ ?

‘लकडाउन’ लम्बिदै गयो भने आम मजदुरले यसको सामना कसरी गर्लान ?

सन्तोष अधिकारी

१४ मार्च २०२० मा अल जजिरा च्यानलले सम्प्रेषण गरेको फिलिपिन्सका मजदुरको कारुणिक कहानी कोरोनाको कहरभन्दा कम पीडादायी देखिँदैन्थ्यो ।

कोरोनाका कारण मनिलामा ‘लक–डाउन’ घोषण गरिएपछि परिवार र आफ्नो दैनिक जीवनयापन कसरी धान्ने भन्ने चिन्ताले आन्दोलित त्यहाँका गरीब कामदारलाई सरकारले कुनै राहात र अनुदानको घोषण गर्न सकेको थिएन भने निजी कम्पनीले ‘नो वर्क, नो पे’को प्रतिक्रिया दिएका थिए ।

रिपोर्टमा सेक्युरिटी गार्डको काम गर्ने ५२ वर्षीय एलि अवोगले भने, ‘हो मलाई थाहा छ, मेरो काम अब छिट्टै  गुम्दैछ, बजार बन्द हुनेछ, सामान अभाव हुनेछ । मैले मेरो परिवारका निम्ति आवश्यक खाद्यान्न र कपडा समेत जोहो गर्नुपर्नेछ तर म अहिले मेरी पत्नी र ४ जना केटाकेटीका निम्ति केही खरिद गर्नसक्ने हालतमा छैन ।’

उनले थपेका छन्, ‘मेरो आयस्रोत अब यही हप्तादेखि रोकिएको छ तर पनि म केही किन्न सक्ने हालतमा छैन ।’ अवोगको कारुणिक भनाइले विश्वका धनी वा गरीब सबै खालका देशमा रहेका आमगरीब मजदुरको यथार्थ अवस्थाको चित्रण गरेको छ ।

फिलिपिन्समा प्रत्येक ५ जनामा १ जना अति गरीबीको रेखामुनि जीवन जिउन विवश छन् भने यो देशमा आश्रित बालबच्चाको संख्या पनि ठूलो छ । यो रिपोर्टले  प्रश्न उब्जाएको छ कि विश्वभरका दैनिक काम गरेर जीवनयापन गर्ने आम मजदुरले ‘लक–डाउन’ लम्बिँदै गयो भने यसको सामना कसरी गर्लान् ? सँगै विश्वका धेरै विकासोन्मुख र विकासशील देशको यस्ता संकटको सामना गर्ने सामर्थ्य कति रहेछ भनेर आकलन पनि यसबाट गर्न सकिन्छ । मनिलामा कोरोनाको परीक्षण निःशुल्क भनिएपनि डाक्टरको शुल्क भने २ हजार फिलिपिनी पेशो तिर्नुपर्ने बाध्यता छ ।

जुन उदाहरणले नेपालको स्वास्थ्य सुविधाको पनि प्रतिनिधित्व गर्नेमा दुईमत छैन । जबकि फिलिपिनोको औसत दैनिक आम्दानी १० डलरभन्दा कम छ । अब यस्तो अवस्थामा रोगबाट बाँच्न गरीब मजदुरहरू ‘लक–डाउन’ सहेर बस्लान् वा तत्काल बाँच्नका लागि जोखिम मोलेर दैनिक कामतर्फ फर्कन संघर्ष गर्लान् ?

आज भोक, रोग र गरीबीसँग संघर्ष गरिराखेका विश्वका करोडौं मानिसहरूमाझ खडा भएको अनुत्तरित प्रश्न हो यो । हामीले स्वीकारेपनि, अस्वीकार गरेपनि नेपालको अवस्था पनि फिलिपिनोहरूको भन्दा  सायद कम छैन । तत्कालका लागि लक–डाउनले कतिलाई व्यस्त र हतार जीवनबाट थोरै राहत मिलेको हुनसक्छ तर यो लम्बिँदै गयो भने हाम्रो जस्तो देशले सामना गर्ने चुनौती कम हुने छैन । लक–डाउन आवश्यक थियो, जुन नेपालले गरेको पनि छ ।

तर चुनौती सामना गर्ने तयारी कत्तिको गरेको छ ? गम्भीर प्रश्न यही नै हो । गोदाममा थन्क्याइएका केही हजार टन चामल, केही लाख लिटर तेल र नूनको स्टोरलाई हेरेर मात्र राज्य ढुक्क भएको छ भने यो गम्भीर भुल हुनसक्छ ।

किनकि न हाम्रो आफ्नै उत्पादनबाट निर्भर हुनसक्ने अवस्था छ, न यो जटिल परिस्थिति लम्बियो भने अरु कसैले सहयोग गरिहाल्ने  स्थिति छ । हामीलाई सहयोग गर्ने शक्तिशाली देश र दातृ निकाय पनि आज यही कोरोनाको कहरबाट आफैं त्राहिमाम भइराखेका छन् । स्मरणरहोस्, हरेक संकटमा अरु देशको सहयोग र दातृ निकायको अनुदानबाट उन्मुक्ति पाइराखेका हामीले यसलाई विगतमा जस्तै, त्यस्तै चुनौतीसँग तुलना गरेर, समस्या आए सहयोग पाइहालिन्छ नि भनेर हल्का रुपमा हेरियो भने महाभुल हुनेछ ।

विगतमा हामी र विश्वका अरु देशले झेले जस्तो सीमित भूगोल र सीमित देशको समस्या होइन यो । यो त सबैले समान रुपमा सामना गरिरहेको चुनौती हो । यो अवस्थामा सबैको पहिलो प्राथमिकता आफ्नै देश र आफ्नै जनता हुनेछन् । त्यसैले त यो संकटसँग जुधिरहेका फिलिपिनीहरूका लागि अरु कोही राहातको प्याकेज बोकेर जान सकेको छैन । नेपाल यसमा बेलैमा सजग हुनैपर्छ ।

अर्को महत्त्वपूर्ण तथ्य भनेको कति समयको ‘लक–डाउन’पछि संक्रमण हल होला भन्ने कुनै पूर्वानुमान गर्न सकिने विषय होइन । उच्च संक्रमणको सामना गरिराखेका विभिन्न देशले यसको अवधि बढाउँदै लगेका छन् ।

‘सामाजिक दूरीको अवधि यो संक्रमणको जोखिम रहेसम्म जतिसक्दो बढाउनु नै यसबाट बच्ने अहिलेको मुख्य उपाय हो, यो केही महिनाहरू, वर्ष र त्योभन्दा बढी लम्बिन पनि सक्छ,’ द भक्सका लागि मार्च १७ मा ब्रियान रेस्नीकले तयार पारेको रिपोर्टमा वैज्ञानिकहरूको विचार उदृत गर्दै भनिएको छ, ‘यो भाइरसको विस्तार कहिलेसम्म रहन्छ ? यकिन गर्न नसकिने भएकाले सजगताको यही उपाय नै अहिलेको आधार हो । सो रिपोर्टमा अर्को गम्भीर कुरा पनि औंल्याइएको छ, अहिले इम्युनिटी पावर राम्रो भएर ठीक भएका बिरामीलाई पछि रि–इन्फेक्सन हुँदैन भन्ने शतप्रतिशत ग्यारेन्टी पनि छैन । किनकि यसको उपचारको निम्ति हालसम्म ठोस भ्याक्सिन पत्ता लागिसकेको छैन ।’

रिपोर्टमा ह्वाइट हाउसस्थित कारोना भाइरस नियन्त्रण टास्क फोर्सका सदस्य तथा डा. एन्थोनी फयुसी, लण्डन स्कूल अफ हाइजेनीका विज्ञ तथा इपिडिमियोलोजिस्ट एडम कुरास्की लगायतका विज्ञहरूको सुझावलाई उदृत गरिएको छ ।

ओलिभिया मेसरले द डेलिवेस्टका लागि अमेरिकनले के लामो समयसम्मको ‘लक–डाउन’लाई पालना गर्लान् भन्ने आशय सहितको रिपोर्टमा भनेकी छन्, ‘यसअघि यस्तो संकट कहिल्यै नभोगेका वर्तमान पुस्ताका लागि यो अवश्य कठिन हुनेछ तर कोभिड १९ सँग लड्नका लागि यो अनिवार्य छ । ठूला–ठूला जमघट र भेटघाटलाई निरुत्साहित गर्दै घरमै डान्स गर्ने, च्याट गर्ने, भिडियो कन्फरेन्स तथा गेमहरू खेलेर स्वभावमा परिवर्तन ल्याउनु नै उत्तम विकल्प हो ।’

रिपोर्टमा लेखक तथा डिजास्टर विज्ञ स्कट नोवेल्सले यो विपत्तिलाई सन् १९१८ मा देखिएको इन्फ्लुएन्जा पेन्डामिकसँग तुलना गर्दै फरक समय र फरक परिस्थितिमा उत्पन्न भएको उस्तै भाइरस भएको दाबी गरेका छन् । त्यतिबेला पनि केही शहर, विद्यालय र चर्चहरू बन्द गरेको उल्लेख गरेका छन् ।

माथि उल्लेखित भावानुवाद गरिएका रिपोर्टलाई हेर्न हो भने अमेरिका, युरोप लगायतका जोखिमबाट ग्रसित देशहरूले विज्ञहरूकै सुझावका आधारमा ‘लकडाउन’को अवधि परिस्थितिको गाम्भीर्यतालाई हेरेर बढाउनेमा कुनै शंका छैन । इटली, स्पेन, जर्मन, फ्रान्स लगायतका देशले त अहिले बढाउँदै लगेको अवस्था नै छ । जोखिमको पूर्ण उन्मुलन भएको विश्वास्त आधार तयार नभएसम्म यस्ता देशले पूर्ण वा आंशिक ‘लक–डाउन’लाई लामो समयसम्मै निरन्तरता दिने आकलन गरिएको छ । स्रोतका अनुसार यस्ता देशहरू अहिले कम्तिमा ३ महिनादेखि ६ महिनासम्म ‘लकडाउन’ गर्ने तयारीमा छन् । के साँच्चै आमसुरक्षा संवेदनशीलतालाई ध्यान दिएर नेपालले पनि यी देशहरूले अपनाएको विधि, जनतालाई सेवा प्रवाहमा गरेको तयारी उत्तिकै प्रभावकारी छ त ? अहिले उब्जिएको आशंका भनेको यही नै हो । सरकार भूकम्प र नाकाबन्दीको बेला जस्तै कमजोर तयारीमा लागेको छ वा त्यस्ता कमजोरीबाट पाठ सिकेर प्रभावकारी व्यवस्थापनमा लागेको छ ? सचेत हुनुपर्ने पाटो यही नै हो ।

किन अमेरिका, युरोप लामो ‘लकडाउन’को तयारी गरिराखेका छन् ? यो बुझ्न जरुरी छ । यसको मूलभूत कारण हो उनीहरू पनि चाइनिज मोडल नै अपनाएर यो महाविपत्तिबाट मुक्त हुन खोजिरहेका छन् । किनकि कोभिड १९ को इपिसेन्टर पनि चीन नै हो भने यो संक्रमणसँग धेरै मुकाबिला गर्दै अहिले तंग्रिने अवस्थामा पुगेको देश पनि चीन हो ।

महत्त्वपूर्ण पाटो के छ भने गत जनवरी २३ बाट ‘लक–डाउन’ भएको वुहान अहिल्यै नै पूर्णरुपमा कोरोना मुक्त भएको प्रमाणित भइसकेको छैन । सो अवधिदेखि अहिलेसम्मको समय भनेको २ महिना कटिसक्यो । तसर्थ संक्रमणसँग जुधिराखेका अरु देशले पनि न्यूनतम त्यसैलाई आधार बनाएर सामान्य प्रोजेक्सन मात्र गरेका हुन् । पूर्ण कोरोना फ्रि हुन वुहानलाई कति समय लाग्नेछ वा अरु देशले अझ कहिलेसम्म लड्नुपर्नेछ अहिले नै कसैले आकलन गरिहाल्न सक्ने अवस्था छैन ।

‘मार्च २३ को सोमवार २ महिनापछि थोरै वुहानबासी आफ्नो घरबाहिर निस्कने प्रयास गर्दै थिए, त्यो पनि तापक्रम मापन गरेर अनि भाइरस मुक्त भएको ग्रीन सर्टिफिकेट पाएकाहरू,’ द गार्डियानका लागि लिलि कोऊले सांघाईबाट तयार पारेको रिपोर्टमा भनिएको छ, ‘बिस्तारै सार्वजनिक सवारी पुनः सञ्चालन गर्ने तयारी छ तर भाइरसमुक्त भएको प्रमाणित भएकाले मात्र हिँड्न पाउनेछन् भने स्वयं सर्वसाधरण पनि सडकमा निस्कन भने अझै धेरै डराइरहेका छन् ।’

रिपोर्टमा इन्फेक्सनको दर नाटकीय रुपमा घटेको भएपनि आफूहरू परीक्षणकै घडीमा रहेको अधिकारीहरूले बताएको उल्लेख गरिएको छ ।

यसबाट के प्रस्ट भएको छ भने इपिसेन्टर वुहान २ महिना बढीको यो लक–डाउन र तीव्र प्रयासपछि अहिले अवस्था कस्तो छ भन्ने परीक्षण गर्ने ठाउँमा आइपुगेको छ, कोरोनामुक्त भएको प्रमाणित भइसकेको होइन ।

अब चाइनाले ‘लकडाउन’ अगाडि गरेको तयारीको सानो प्रसङ्ग जोडौं । ‘शुरूमा वुहानमा ३ हप्ताको लक–डाउनको घोषणा गरिएको थियो, सबैका लागि विश्वका अरुलाई जस्तै यो नयां संकटको अनुभूत भएको थियो । तयारी गरिराख्दा मास्क र अत्यावश्यक औषधिको उत्पादनलाई तीब्रता दिइएको थियो, खाद्यन्नको कुनै अभाव हुँदैन भन्नेमा पूर्ण ग्यारेन्टी गरिएको थियो । पानी, सुप र तरकारीको समेत आवश्यक प्रबन्ध गरिसकिएको थियो । आम वुहानबासीलाई यसरी क्वारेन्टाइनमा राख्दा सायद केहीको व्यवस्थामा कमी थिएन, घरमा पालिएका जनावर र तिनका बच्चालाई समेत पर्याप्त आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको थियो,’ अमेरिकाबाट प्रकाशित फरेन पोलिसी अनलाइन संस्करणका सम्पादक जेम्स पाल्मरको रिपोर्टमा उल्लेख गरिएको तथ्य थियो यो ।

यसबाट के प्रस्ट भएको छ भने महाविपत्तिको त्यो संघारमा पनि चीन हतारमा होइन, संयम, धैर्यता, बुद्धिमतापूर्ण निर्णय लिनबाट कत्ति पनि चुकेको थिएन । आज त्यसैको परिणाम हुनसक्छ, बाँकी विश्व अकल्पनीय संकटसँग संघर्षरत रहेका बेला चीन भने बिस्तारै त्यो संकटबाट मुक्त हुने तरखर गरिराखेको छ ।

यो विकराल अवस्था कहिलेसम्म रहन्छ वा विश्वले कहिलेसम्म धान्नुपर्नेछ ? कसैले अनुमान गर्नसक्ने अवस्था छैन । जोखिम न्यूनीकरणका निम्ति विश्वले पछ्याएको ‘लकडाउन’ विधिलाई नेपालले पनि अपनाएको छ, यो साँच्चै नै प्रशंसनीय छ तर पनि अन्तिममा फेरि एक पटक जिज्ञासा सोध्न मन लाग्यो – नेपालको व्यवस्थापनको तयारी कस्तो छ, चीनको जस्तो कि फिलिपिन्सको जस्तो ?

Tags

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close