
शब्द / फोटो: अरुण गिरी
पहिरोले पुरिएर नामो-निशान मेटिएको घरको भग्नावशेषमा हेर्न म र मेरो साथी तिलक बिहान पोखराबाट क्यामेरा भिरेर सराङकोटतर्फ उक्लियौं । सिमसिम पानी परिरहेको थियो । बिहानै देखि देशभर बाढी र पहिरोले दिएको पीडाका समाचार संंचारमाध्यमहरुमा आईरहेका थिए ।
पोखरा– १८ सराङकोट स्थित गोठादीमा एउटा घर पहिरोले पुरिएको समाचारले फेसबुकका टाइमलाइन भरिएको थियो ।
एउटै घर पुरिएर ५ जनाको ज्यान जानु र ८ जना घाइते हुनु सामान्य घटना थिएन । हामी त्यो दर्दनाक घटनालाई तस्वीरमा उतार्न चाहन्थ्यौं, त्यसैले हामी त्यतातिर लागेका थियौं ।
घटनास्थल नजिकै पुग्दा पहिरोले पुरिएर मृत्यु भएका र घाइतेको प्रहरीले उद्धार गरिसकेको थियो । घटनास्थलमा घर थियो जस्तो पनि नलाग्ने गरी पहिरोले तहस–नहस पारेको थियो । बाटोमै भेटिएका स्थानीयलाई हामीले घटनास्थलका बारेमा सोध्यौं ।
‘पहिरोमा निधन भएका र घाइते भएकालाई प्रहरीले लगिसक्यो, उनले भने, तल घर पुरिएको ठाउँमा केही छैन, मरेका बाख्रा र घरका भग्नावशेष मात्र छन्, नगएपनि हुन्छ ।’
पहिरोले पुरिएको घर सडकबाट झण्डै २ सय मिटर तल थियो । मलाई तल झर्न मन लाग्यो । घटनास्थलमा मरेका बाख्रा त्यतिकै थिए । घर छाएको टिन, लत्ताकपडा, भाडा–कुडा छरपष्ट थिए । मैले ती छरपष्ट सामानको फोटो क्यामेरामा कैद गरें ।
प्रहरीले घाइते र मृतकको उद्धार गर्दा पहिरो खोतलेका थिए । घरको भग्नावशेष भनेकै टिनले छोपिएका किचन थियो । मैले किचनको फोटो खिँचे । क्यामेराको लेन्सले किचनमा एउटा कालो बस्तु चलेजस्तो देखायो । मैले भित्र आँखा तन्काएर हेरे । त्यो कालो बस्तु केही नभएर कुकुर रहेछ ।
कुकुर टाउको लुकाएर सुतेको थियो । मैले सानो आवाज दिँए । कुकुरले पुलुक्क म तिर हेर्यो, मेरो क्यामेराको क्लिक बटन थिचें । कुकुरले फेरी पहिले जस्तै टाउको लुकायो । कुनै प्रतिक्रिया जनाएन ।
त्यसपछि म अन्यत्रै केन्द्रित भए । केहीबेर अन्य फोटोहरु लिएपछि फेरी मलाई त्यही कुकुर भएतिर आउन मन लाग्यो । उसको मनोदशा बुझ्न मन लाग्यो ।
मैले फेरी आवाज निकालेर फोटो खिच्न लागे । कुकुरले फेरी पहिले जस्तो हेर्यो, र फेरी टाउको लुकायो । कुनै प्रतिक्रिया जनाएन । मैले छिमेकीलाई भित्र कुकुर भएको बताए ।
छिमेकी आश्चर्यमा परे । उनले ‘त्यहाँ कुकुर छ र ?’ भनेर सोधे । मैले कुकुर भएको बताएपछि उनले त्यो कुकुर त्यही पुरिएको घरको भएको बताए । पहिरोले पुरिएर मरेका र बाँचेका मानिसको प्रहरीले उद्धार गरेको थियो । यो कुकुरको उद्धार कसैले गरेका थिएनन् ।
मैले साथी तिलकलाई आवाज दिन लगाए । उनले टिन बजाए। त्यसपछि कुकुर बसिरहेको ठाउँबाट उठेर बाहिर आयो, यता–उता हेर्यो। भग्नावशेषबाट बाहिर निस्केर उसले तनक्क जिउ तन्कायो, हाई काड्यो । तर त्यो कुकुर न भुक्यो, न कतै गयो । त्यही बसिरह्यो ।
कुकुरका मालिक अर्थात घरधनी ५० बर्षीय टंकबहादुर थापाले पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । उनका श्रीमती ४५ बर्षीय सोममाया थापा लगायत ५ जनाले ज्यान गुमाएक थिए । घटनामा परिवारका सदस्य, छिमेकी र आफन्त गरी ८ जना घाइते भएका थिए ।
भग्नावशेषमा घरका मानिस कोही थिएनन् । न त अरु जनावर नै थियो । पहिरोले पुरिएको घरमा बस्न मिल्ने गरी कुनै ठाउँ थिएन । कुकुरको जीउमा केही घाउहरु थिए । जुन पहिरो आउनुअघि नै कुकुर बिरामी भएको जस्तो देखिन्थ्यो ।
बस्ने घरसहित मालिक गुमाएको पीडा कुकुरको आँखा छल्किन्थ्यो, घरमा बाहिरका मानिस देख्दा पनि उसले कुनै प्रतिक्रिया जनाउन सकेको थिएन । नयाँ मान्छे देख्ने वित्तिकै भुक्ने कुकुरको परम्परागत स्वभाव मालिक गुमाउनुको पीडाले किचेको जस्तो देखिन्थ्यो ।
म त्यहाँबाट निस्कन लागे । साथी तिलकलाई जाउँ भने । मैले स्थानीयलाई कुकुरलाई हेर्न आग्रह गरें । हामी माथि बाटोतिर लाग्यौं । माथि पुगेर फर्केर तल हेर्यो । कुकुर अझै त्यहीं उभिरहेको थियो । जहाँ बास बस्ने घर नै ढलेर भग्नावशेष भएको थियो ।