Headlines with imageजक्सन फिचरमनोरन्जनमनोरन्जन फिचरमनोरन्जन समाचारसंगीत

एउटा यस्तो लोकमान्यता: आत्माले आफ्नो हत्याको बदला लिन्छ

रेम बिक

लोकमान्यता के छ भने, मानिस मरेपनि उसको आत्मा मर्दैन । र, त्यही आत्माको शान्तिको कामना गर्दै मृत्युपर्यन्त उसको क्रियाकर्म गर्ने चलन छ ।

तर कालगतीले नभई हत्या वा आत्महत्याबाट मानिसको मृत्यु भएमा उसको आत्मा भड्किन्छ भन्ने अर्को लोकमान्यता छ । र, यो मान्यता विशेषगरि गण्डक क्षेत्रमा बढि छ । भड्किएको आत्मा नै भूतप्रेत हो र त्यसले अँध्यारोमा डराउन दिन्छ भन्ने चलन धेरै पहिलादेखिकै हो । त्यसैले जंगल र खोलाको बगरमा मानिसहरु सितिमिति रातको समयमा एक्लै हिड्डुल गर्न डराउँछन् ।

यद्यपि यस्तो खालको विश्वासलाई अहिले आएर अन्धविश्वास भनिन्छ । तर लोकले मानिसकेको सत्यलाई जतिसुकै होईन भनेपनि त्यसको प्रभाव मानिसमा परिहाल्छ ।

गण्डक क्षेत्रमा त अझै यो पनि भनिन्छ, भड्किएको आत्मा जंगलमा बस्छ । विशेषगरि महिलाको भड्किएको आत्माले रात परेपछि गीत गाउन शुरु गर्छ । र, उनीहरुले आफ्ना हत्यारासँग आफ्नो हत्याको बदला लिन्छन् ।

गण्डक क्षेत्रको यही लोक मान्यतालाई कलाकार प्रकाश सपुतले आफ्नो पछिल्लो गीतमा टपक्कै टिपेका छन् । गण्डक क्षेत्रलाई नै प्रतिनीधित्व गर्ने यी कलाकारले आफ्नै नजिकको लोकमान्यतालाई गीत र भिडियोमार्फत प्रस्तुत गरेका छन् । उनले गीतको शीर्षक दिएका छन्–‘बदला बरिलै’ ।

त्यसो त गायक सपुतले आफ्ना हरेक सृजनामा आफ्नै नजिकका घटनाहरुलाई नै टपक्क टिप्दै आएका हुन् । यसअघि वैदेशिक रोजगारी र यसले समाजमा पारेको प्रभावलाई समेटेर बनाएको ‘गलबन्दी’ र ‘बोल माया’ले पनि समाजकै भुँई–कथा बोल्छन् ।

तर उनको पछिल्लो सृजना ‘बदला बरिलै’मा भने उनले केही फरक मान्यतालाई जोड दिएका छन् । हुन त उनले भनेका छन्–‘मलाई भूत प्रेत हुन्छ । मान्छेको मृत्यु भएपछि आत्मा फर्केर आउँछ भन्ने कुरामा त त्यति विश्वास लाग्दैन । तर जसले जघन्य अपराध गर्छ त्यसले कुनै न कुनै रुपमा सजाय पाउछ भन्ने कुरामा चाहिँ विश्वास लाग्छ । कुनै पनि शक्ति र पहुँचको आडमा अपराध नगरौ ! बलत्कार नगरौ ।’

कथावाचनका लागि ‘भूत’ पात्रको प्रयोग गरेपनि प्रकाशले यो गीत र भिडियोमार्फत सामाजिक सन्देश दिन खोजेका छन् । र, उनको यो प्रयास पनि स्रोता अनि दर्शकले मन पराउनेमा दुईमत छैन ।

 गीतको बनोट :

गीतको कुरा गर्दा यसको भाकाबाटै शुरुवात गरौँ । यो पुर्णतया गण्डक क्षेत्रको लोक भाका हो । र, तीजमा यस्तै खाले भाका पहिल्यैदेखि गाईँदै आएको हो । गायक तथा संगीतकार सपुतको यो विशेषता पनि हो । लोकभाकालाई मुलधारको संगीतमा ल्याएर धेरैभन्दा धेरै युवा स्रोताहरुसँग जोड्ने काममा उनी सफल भैसकेका पनि छन् । उनले यस्तै ठेट लोकभाका ‘बोल माया’मा पनि प्रयोग गरेका छन् । जुन कोही आफ्नो व्यक्तिको मृत्युपछि उसका नजिकले बिलौना गर्दै रुँदा निस्कने भाका हो । ‘गलबन्दी’ गीतमा भने उनले यही क्षेत्रलाई प्रतिनीधित्व गर्ने रोधीको भाकालाई प्रयोग गरेका छन् ।

यो गीतको सबैभन्दा बलियो पक्ष भनेको यसको ‘एरेन्जमेन्ट’ हो । ‘म्यूजिक इन्जिनियरिङ’ पढेका श्यामश्वेत रसाईलीले गरेका गज्जबका कामहरुमध्ये यो पनि एक हो ।

गायिकाको रुपमा देवी घर्तीले शत प्रतिशत न्याय गरेकी छन् । संगीत निर्देशक समेत रहेका सपुतले गायिका र ‘म्यूजिक डिजाइनर’ छनौटमा पनि कुनै सम्झौता गरेनन् । त्यही भएर गीत अझै बढि गज्जबको बन्यो ।

अब कुरा गरौँ भिडियोको । गण्डक क्षेत्रकै लोकभाका भएकोले सकेसम्म प्रकाशले यो गीतको भिडियो त्यही परिवेशमा गरेको भए अझ राम्रो हुन्थ्यो । यद्यपी उनले त्रिभुवन विश्वविद्यालय नजिकको जंगललाई त्यो परिवेश बनाएका छन् । जुन अन्यायपूर्ण भने छैन ।

भिडियो निर्देशक समेत रहेका प्रकाशले सबैभन्दा बढि भिडियोमा ध्यान दिएको कुरा हो, पात्र चयन । चरित्र सुहाँउदो पात्रको चयन गरेकैले यो भिडियो राम्रो बनेको छ । भड्किएको आत्माको चरित्रमा देखिएकी केकी अधिकारीको पर्फमेन्स गज्जबको छ । भिडियोका चरित्रहरुमध्ये सबैभन्दा सहि पात्र छनौट भएका भने पक्कै पनि धु्रब कोईराला हुन् । ‘नेगेटिभ क्यारेक्टर’को रुपमा उनले आफूलाई अब्बल साबित गरेका छन् । त्यसो त कोईरालाले यसअघि पनि नेपाली फिल्महरुमा गरेका नकारात्मक चरित्रमार्फत चर्चा पाउँदै आएका हुन् ।

अनिलकृष्ण मानन्धरले सिनेम्याटोग्राफरको रुपमा आफूलाई कमजोर बन्न दिएका छैनन् ।

सम्बन्धित खबर

Close