Headline Title onlyजक्सन फिचरन्युज पोखरासमाजहाम्रो देश

लकडाउनमा फेवाताल सफा गर्दै १२ जना प्रकृतिप्रेमी युवाहरु : विदेशी पर्यटकको पनि साथ

स्थानिय र आन्तरिक पर्यटकले नै गर्छन् फेवाताल फोहोर तर सरसफाईमा जुट्छन्, विदेशी पर्यटक पनि

प्रकृतिप्रेमी युवाहरुको समुहले पोखराको फेवाताल सफाई अभियान थालेका छन् । तालभित्र र वरीपरी फोहोर थुप्रिएपछि उनीहरुले सरसफाई अभियान चलाएका हुन् । अभियानमा नेपाली युवा मात्र होइन, लकडाउनमा नेपालमै रहेका विदेशी पर्यटकले पनि साथ दिएका छन् । प्रोजेक्ट फर नेचर समुह बनाएर उनीहरुले ताल सफाईमा लागेका हुन् ।

धरान घर भएका पर्यटक गाइड एलन बिष्ट अहिले दिनहुँ पर्यटकलाई लिएर फेवाताल निस्कन्छन् । पर्यटकलाई फेवाताल देखाउन र घुमाउनका लागि भने उनी फेवाताल गएका होइनन् । फेवातालमा थुप्रिएका प्लाष्टिक र फोहोर उठाउन उनी विगत १५ दिनदेखि ताल वरीपरी घुमिरहेका छन् ।

रसियन पर्यटक एलियाना सगरमाथा क्षेत्रको थ्रि पास गर्न नेपाल आएकी थिइन् । लकडाउन घोषणा हुनुभन्दा २ दिनअघि मात्र नेपाल आएकी उनी यतै अड्किन् । लकडाउनका कारण पदयात्रा जान नपाएकी एलियानालाई स्वदेश फर्कन पनि मन लागेन । उनी अहिले फेवातालको प्लाष्टिक टिप्न व्यस्त छिन् ।

एलियाना लकडाउन भएपछि काठमाडौंमा ५० दिन बसिन् । त्यसपछि लकडाउनकै बिचमा पोखरा आइन् । ‘म साथीहरुसँग सहकार्य गरिराखेको छु, मानिस र प्रकृतिवीच घनिष्ट सम्बन्ध हुन्छ, उनले भनिन्, प्रकृतिले हाम्रो ख्याल गर्ने भएकाले हामीले पनि प्रकृतिको ख्याल गर्नुपछ ।’

लकडाउन नभएको भए उनी अहिले आफ्नो पदयात्रा सकेर स्वदेश फर्किसक्थिन् । उनका गाइड बिष्ट पनि एलियानालाई सगरमाथा क्षेत्रको थ्रि पास सकेर अन्य पर्यटकलाई कुनै हिमालको फेंदतिर घुमाइराखेका हुन्थे ।

पदयात्राका लागि पहिलो पटक नेपाल आएको बर्षदिनमै तेस्रो पटक एलियाना नेपाल आएकी थिइन् । यसअघि उनी गत अप्रिलमा पहिलो पटक अन्नपूर्ण फेरो र गत नोभेम्बरमा सगरमाथा आधार शिविर पदयात्रा गएकी थिइन् ।

एलियानासँगै स्पेनका एरिक र जर्मनीका क्रिष्टिना पनि फेवातालको सरसफाईमा लागेका छन् । उनीहरुका सरकारले उद्धारका लागि स्वदेश फर्कन भनेको थियो । तर उनीहरुले यहीं सुरक्षित हुने भन्दै लकडाउनमा स्वदेश फर्कन चाहेनन् ।

सरसफाई अभियानमा पर्यटक गाइड बिष्ट, स्थानीय युवा विशालजंग थापा, प्रशान्त बुढाथोकी लगायतका १२ जना युवाहरु छन् । उनीहरुले यसअघि प्रकृतिको संरक्षण नारा दिएर देशव्यापी साइकल यात्रा गरेका थिए । मुस्ताङको कोरोला नाकाबाट शुरु गरेर झापा, जनकपुर, विराटनगर, महेन्द्रनगर लगायतका ठाउँहरुमा पुगेर सकेसम्म त्यहाँका स्थानीय जनप्रतिनिधीसँग प्लाष्टिक नियन्त्रणका लागि आग्रह गरेका थिए ।
‘पोखरामा ताल भएर नै पर्यटक आउने हो, बिशालजंग थापाले भने, हाम्रो अस्तित्व जोगाउन पनि फेवाताल त जोगाउनै प¥यो ।’ ताल सफाई अभियानमा स्थानीय व्यवसायीले पनि सघाएको उनले बताए । तालमा थुप्रिएको प्लाष्टिक निकाल्न ताल वरीपरीका जलारी समुदायले डुङ्गा सहयोग गरेको छ भने व्यवसायीले खाना र खाजा सहयोग गरेका छन् ।

‘प्रोजेक्ट फर नेचर’ समुह बनाएर फेवाताल संरक्षण अभियान थालेको थापाले बताए । फोहोर टिप्ने क्रममा अहिलेसम्म ६० बोरा प्लाष्टिकजन्य फोहोर उनीहरुले उठाई सकेका छन् । अहिले ४० बोरा संकलन भइसकेको छ । उक्त फोहोर पोखरा महानगरको फोहोर उठाउने गाडी बोलाएर पठाउने गरेको अर्का युवा प्रशान्त बुढाथोकीले बताए ।

फेवाताल सफाई अभियान २ महिनासम्म चलाउने उनीहरुको योजना छ । सरसफाई मात्र नभई स्थानीयलाई सचेत गाउने कार्यक्रम पनि रहेको उनीहरुले बताएका छन् ।

‘विदेशीले भएको फोहोर पनि टिप्छ, नेपालीले नै हो फेवाताल फोहोर गर्ने, पर्यटक गाइड बिष्टले भने, स्थानीय व्यवसायी र अन्य मानिसलाई पनि ताल सफा राख्नुपर्छ भनेर भन्छौं ।’ फेवातालमा प्लाष्टिक लगायत फोहोर फाल्नेमा अधिकाँश स्थानीयबासी र ताल घुम्न जाने नेपाली भएको उनीहरुको ठम्याई छ ।

वातावरण सरसफाई आफ्नै घरको सफाई जस्तै भएको अर्का युवा एलिसा लिम्बुले बताइन् । ‘पृथ्वी हाम्रो घर हो, उनले भनिन्, घर जस्तै पृथ्वी पनि सफा राख्नुपर्छ ।’ यता अर्का युवा विजय तामाङ भने तालको फोहोर टिपेर मात्र सफा नहुने बताउँछन् ।

‘ताल सधैं सफा राख्न मान्छेको व्यवहार नै परिवर्तन हुनुपर्छ, उनले भने, आज प्लाष्टिक टिपेर भोलि फेरी फाल्ने बानी सुधार्नुपर्छ ।’ फेवाताल सफा गर्न लागेका युवाहरुको समुहलाई आफुले पनि सहयोग गरेको सराङकोट पदमार्ग टोल विकास संस्थाका अध्यक्ष शिव थापाले बताए ।

फोटो / भिडियो : अरुण गिरी / जक्सन डट कम

सम्बन्धित खबर

Close