Headline Title onlyलाईफ स्टाईलसमाचारस्वास्थ्यहाम्रो देश

चीनबाट ल्याएको र्‍यापिड टेस्टिङ किट ठिक छ/छैन भनेर २ सय जनाको स्याम्पल जाँचिदै

सरकारले चीनबाट सात करोड बढी रुपैयाँ खर्चेर ल्याएको र्‍यापिड टेस्टिङ किट ठिक छ/छैन भनेर जाँच गर्ने भएको छ। यो किटले १५ मिनेटमै कोरोना भाइस (कोभिड-१९) को नतिजा दिन सक्छ।

केही विज्ञहरूले यसले दिने नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाएपछि सरकारले पहिले यो ठिक छ कि छैन भनेर जाँच गर्न लागेको हो।

सुरूमा यसको भ्यालिडेसन गर्ने जिम्मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्लाई दिइएकोमा आइतबार फेरि त्यो जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको छ।

प्रयोगशालाकी निर्देशक डा. रूना झाले सुरूमा २ सय जनाको स्याम्पलको क्रस चेक गरिने जानकारी दिइन्।

‘हामीले २ सय जनाको रगत र स्वाबको नमूना लिएर आउनु भनेका छौं। त्यो यहाँ प्रयोगशालामा जाँच गरेपछि ठिक छ वा छैन भन्ने थाहा हुन्छ,’ उनले भनिन्।

२ सय जनाको स्याम्पल लिन ६ जनाको टोली आइतबार राति नै कैलाली र कञ्चनपुर प्रस्थान गरेको छ। त्यहीँ टोलीले स्थानीय स्वास्थ्यकर्मी र अन्य निकायसँग स्याम्पल लिन समन्वय गर्नेछ।

आइतबार बेलुका नै ती टोलीलाई किट प्रयोगबारे तालिम दिइएको थियो। टोलीले दुई जिल्लाबाट संकलन गरेको स्वाब र रगतको नमूना प्रयोगशालामा जाँच गरिने छ।

चीनबाट ल्याइएका ती किटको ८४ प्रतिशत सेन्सिटिभिटी रहेको बताइएको छ। त्यो भनेको सय जनाको पोजेटिभ संक्रमितको जाँच गर्दा ८४ जनाको मात्र पोजेटिभ देखाउन सक्छ। त्यही एकिन गर्न प्रयोगशालामा पुन: परीक्षण गरिने भएको हो।

सरकारले यो किट ठिक रहेको अवस्थामा धेरै व्यक्तिको परीक्षण गर्ने तयारी गरेको छ। यसअगाडि नै सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्टिङ किटबाट परीक्षण गर्ने बताएको थियो। जसमा कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको परीक्षण गर्ने भनिएको हो।

यस्तै यी दुई जिल्लामा चैत महिनामा विदेशबाट आएकाहरूको पनि परीक्षण गर्ने भनिएको छ। बाग्लुङमा पनि दुई जना संक्रमितका छिमेकीहरूको पनि परीक्षण गर्ने सरकारले जनाएको छ।

सरकारले चीनबाट ७५ हजार वटा र्‍यापिड टेस्टिङ किट खरिद गरेको छ। सरकारले यो किट चीन सरकारले अनुमति दिएको कम्पनीबाटै खरिद गरेको दाबी गरेको छ भनि सेतोपाटीमा खबर छ।

सम्बन्धित खबर

Close