Headline Title onlyधर्मसंस्कारलाईफ स्टाईल

बाबुरामले ओलीलाई दाँजेका ‘भष्मासुर’ को हुन् ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको एउटा अन्तर्वार्ताले हिन्दू धर्मका एक पौराणिक पात्रलाई राजनीतिक चर्चामा मुछिदिएको छ । शक्तिको दुरुपयोग गर्ने नकारात्मक बिम्बका रुपमा प्रयोग गरिएका ती पात्र हुन्–भष्मासुर ।

रेडियो नेपालको अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका थिए । यही विषयमा रेडियो नेपालले औपचारिक विज्ञप्ति नै निकालेर माफी मागेपछि यो विषय बहसमा आएको हो ।

धार्मिक ग्रन्थको अध्ययन नगरेका नयाँ पुस्तालाई भष्मासुर को हुन् भन्ने खुल्दुली पनि बढेको हुन सक्छ ।

पौराणिक कथाअनुसार शकुनीका पुत्र बृकासुरलाई एक कपटी स्वभावका असुर थिए । उनको वास्तविक नाम बृकासुर भए पनि शक्तिको दुरुपयोग गर्न खोज्दा आफैँबाट भस्म भएपछि मृत्योपरान्त उनको नाम भस्मासुर हुन गएको हो ।

भस्मासुर सिंगै विश्वमा राज गर्न चाहन्थे । यही महत्वाकांक्षा पूरा गर्नका लागि उनले भगवान शिवको कठोर तपस्या गर्न थाले । तपस्याबाट सन्तुष्ट भएका शिवले वर माग्न आग्रह गरेपछि बृकासुरले कहिल्यै मर्नु नपर्ने वरदान दिन आग्रह गरे । यसबाट भगवान शिव अफ्ठेरोमा परे ।

भस्मासुरले मागेको सो वर सृष्टिको नियम विपरीत हुने भएपछि शिवले अर्काे वर माग्न आग्रह गरे । अनि भस्मासुरले आफूले जसको शीरमा हात राख्यो, ऊ भस्म हुने शक्ति मागे । अन्ततः जसको शीरमा उनको नलीहाड पर्छ, त्यो व्यक्ति भस्म हुन्छ भन्ने वरदान भगवान शिवले दिए ।

शक्ति हातमा आएपछि उनको उन्माद चुलिँदै गयो । हुँदा–हुँदा उनले आफैँलाई वरदान दिने शिवलाई समेत चुनौति दिन थाले । शिवलाई भस्म गराएर पार्वतीलाई भोग गर्ने चाहना मनमा राखेर उनी शिवको पछि लाग्न थाले ।

आफैँले दिएको वरदानले आपत्मा परेपछि शिवजीको भागाभाग भयो । शिव भाग्दैभाग्दै विष्णुसँग सहारा माग्न पुगे ।

विष्णुले बृकासुरलाई सिध्याउने उपाय रचे । र, उनी एउटी सुन्दरीको भेषमा भस्मासुरको अघि प्रकट भए । आफ्नो अघि नृत्य गरिरहेकी सुन्दरीप्रति भस्मासुर मोहित भए । बिष्णु नाच्दै गए । बृकासुर पनि सुन्दरीको नक्कल गर्दै नाच्न थाल्यो । नाच्ने क्रममा एकपटक सुन्दरीरुपी विष्णुले आफ्नै टाउकोमा हात राखे । उनको नक्कल गरेर नाचिरहेको बृकासुरले पनि आफ्नै टाउकोमा हात राख्यो । उसलाई आफ्नो शक्तिको विषयमा त्यसबेला हेक्का भएन ।

शीरमा हात परेपछि बृकासुर भस्म भयो । अनि, बल्ल शिवले छुटकारा पाए । त्यहीकारण बृकासुर भस्मासुरका रुपमा प्रख्यात भएको हो ।

अहिले राजनीतिक वृत्तमा भस्मासुर शब्दको प्रयोग धेरै हुने गर्छ । भारतमा पनि विपक्षी नेताहरुलाई गाली गर्दा भस्मासुर संज्ञा दिने गरिन्छ । भस्मासुरलाई एउटा प्रवित्तिका रुपमा लिने गरिएको छ ।

‘भस्मासुरको नलीहाड’

२०३६ सालमा सत्ताको खेलबाट आजित भएर ‘भस्मासुरको नलीहाड’ शीर्षकमा नाटक लेखेका थिए साहित्यकार ध्रुवचन्द्र गौतमले । हास्यव्यङ्ग्य प्रधान भए पनि यो नाटक पूर्ण राजनीतिक विषयवस्तुमा आधारित थियो । उनले लेखेको भस्मासुरको नलीहाडको प्रसंगतर्फ लागौँ ।

वि.सं २०३६ सालमा जनमत संग्रहको माहोल थियो । सुधारिएको पञ्चायती शासन वा बहुदलीय शासन व्यवस्था ठीक ? भनेर गरिएको जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा ५५ प्रतिशत मत खस्यो । यो जनमतसँगै राजाको प्रत्यक्ष शासन चल्ने देशमा प्रधानमन्त्रीय पद्धतिको सुरुवात भएको थियो । तर, सर्वेसर्वा भने राजा नै थिए ।

गौतम सम्झन्छन्, ‘त्यतिबेला पनि सत्तामा हुने र उनीहरूका आसेपासेमा अहंकारको पहाड थियो । सत्ता र शक्तिको चरम दुरुपयोग थियो । त्यही प्रसंगमा राजनीतिक घटनाक्रमलाई नियालेर भस्मासुरको नलीहाड तयार पारेको हुँ ।’

मेकियाबेली भन्ने विद्वानको ‘सत्ताले मानिसलाई भ्रष्ट गर्छ’ भन्ने उक्तिबाट प्रभावित भएर पनि आफूले त्यो नाटक रचना गरेको उनी बताउँछन् ।

जनमत संग्रहपछि पनि सत्ताको खेलमा भने कमी आएन । एकातर्फ प्रधानमन्त्री बन्नको लागि पञ्चायत पक्षधरहरूको दौडधुप चलिरहेकै थियो भने पञ्चायत विरोधीहरूमा पनि मोर्चाबन्दी थियो । शासनमा हुनेहरूले आफ्नो पदको दुरुपयोग गरिरहेका थिए भने आफूसँग रहेको शक्तिको आधारमा अर्काेलाई सिध्याउने षड्यन्त्र पनि चलिरहेकै थियो ।

यही प्रसंगमा लेखेका थिए साहित्यकार गौतमले ‘भस्मासुरको नलीहाड’ ।

अनलाइनखबरसँग गौतम भन्छन्, ‘त्यतिबेला सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा पनि बल प्रयोग गरेर नै परिणाम ल्याइएको थियो भन्नेमा धेरै विश्वस्त थिए । सत्तामा पुगेपछि अर्काेलाई सिध्याउने खेल चलिरहेको थियो । सत्तामा पुग्नको लागि पनि अर्काे घृणित खेल चलिरहेकै थियो ।’

उनी थप्छन्, ‘भस्मासुरको नलीहाड भनेको भनेको सत्ता हो । भस्मासुर भनेको सत्ताको लागि दौगादौड गरिरहने नेताहरू हुन् । सबैजना नलीहाडको लागि नै दौडधुप गरिरहन्छन् । मैले यही सत्ता र शक्तिको खेललाई पौराणिक पात्र र कथासँग जोडिदिएको मात्रै हुँ ।’

एउटा मिथकीय विषयवस्तु समेटेर तयार पारेको भस्मासुरको नलीहाड जनमत संग्रहकालिन परिस्थितिलाई दृष्टिगत गरी लेखिएको भएपनि यसले अहिलेको राजनीतिक परिस्थितिलाई समेत प्रतिनिधित्व गरेको बताउँछन् साहित्यकार गौतम । जतिसुकै शासन व्यवस्था बदलिए पनि नेपालको राजनीतिमा भस्मासुर प्रवृत्तिको अन्त्य नभएको उनको भनाइ छ ।

साभार : अनलाइनखबर (सुदर्शन अर्याल)

सम्बन्धित खबर

Close