Inside पोखरापोखरा

‘डाक्टरहरूको व्यवहार देख्दा रून मन लाग्छ’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा दुइटा प्लाष्टिक कुर्सी जोडेर एक जना बालकलाई सुताइएको छ।

जहाँ बालकका बुवा र वृद्ध हजुरबुवा चित्र कँडेल बालकलाई हेरेर बसिराखेका छन्। बालक घरिघरि खोक्छन्, उनका बाबुले पानी पिलाउँछन्।

बाग्लुङको ताराखोला गाउँपालिकाका ६ वर्षीय बालक होमराज कँडेलको आँत विगत एक सातादेखि तातेको छ। गाउँकै स्वास्थ्य चौकीमा उपचार गराउँदा उनलाई निको भएन। त्यसपछि गाउँनजिकैको आरोग्य अस्पतालामा लगे। त्यहाँ सबै चेक गर्दा निमोनिया भएको आशंकासहित अस्पतालले गण्डकी प्रदेशकै ठूलो निजी अस्पताल मणिपाल शिक्षण अस्पताल ‘रिफर’ गर्‍यो।

मणिपाल अस्पतालले पनि भर्ना नलिई उल्टै सरकारी अस्पतालमा ‘रिफर’ गरिदियो।

मणिपालले रिफर गरिदिएको अस्पताल गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसम्म एम्बुलेन्समा बिहीबार राति पुगेका बालक होमराजको अस्पतालले भर्ना नै गरिदिएन। अस्पतालभित्र पनि बस्न पाएनन्।

रात बाहिर खुला आकाशमुनि कटाए। ज्वरो र खोकीले ग्रस्त बालक ६ दिनदेखि पानीमात्र खाएका छन्।

बालकलाई लिएर आउने वृद्ध हजुरबुवा र बुवाले पानीबाहेक केही खान पाएका छैनन्। कारण-बाहिर होटल, रेष्टुरेन्ट बन्द छन्, भित्र अस्पतालले भर्ना नै लिँदैन।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत यस क्षेत्रीय अस्पतालमा अहिले कोरोना भाइरसको जाँचका लागि पिसिआर मेसिन राखिएको छ। जहाँ कोरोना भाइरस परीक्षण पनि गर्न थालिएको छ।

रातको समय एउटा डाक्टर आउँछन्, उनीहरूलाई अस्पताल प्रांगणमा टाँगिएको चिनियाँ टेन्टमा बस्न भन्छन्। फेरि अर्को आउँछन्, यहाँ बस्न पाउँदैन भनेर हप्काएर बाहिर निकाल्दिन्छन्।

कोरोना भाइरसका आशंकामा मौसमी फ्लूका बिरामीले समेत उपचार नभएको यो पहिलो घटना होइन।

नेपालमा कोरोना भाइरस देखिन थालेदेखि नै पोखराका सरकारी र निजी अस्पतालको ‘रवैया’ यस्तै छ।

नातिको अहिलेसम्म पनि डाक्टरहरूले उपचार नगरेको देख्दा मन अमिलो भएको छ हजुरबुवाको। अनि अस्पताल परिसरमै आँसु झार्छन् उनी। अझ डाक्टरको व्यवहारले मन कुडिएको छ उनको।

‘डाक्टरहरूको व्यवहार देख्दा रून मन लाग्छ’,परिसरमै निराश मुद्रामा रहेका हजुरबुवा चित्र कँडेल भने,‘अझ डाक्टरको गाली र व्यवहारले मन कुडिन्छ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले भने क्वारेन्टाइन नभएकाले उनीहरूलाई बाहिर राख्नुपरेको दाबी गरे।

‘हामीले भर्ना नलिएको होइन, लिएका छौं। उहाँको उपचार पनि गरेका छौं। क्वारेनटाइनमा बस्छौं भन्छन्, यहाँ कहाँ छ क्वारेनटाइन?,’ डाक्टर आचार्यले सेतोपाटीसँग भने,‘हिजो राति त्यो बालकलाई मैले नै टेन्टमा राख्न भनेको हो। विज्ञ डाक्टर आएर जाँच्नु पर्ने हुन्छ। आज जाँचेको छ। ज्वरो घटेको छ।

उनले अस्पताल होटल नभएको पनि तर्क गरे।

‘उहाँहरू भित्रै बस्छु भन्नुहुन्छ, अस्पताल होटल होइन नि। बाहिर होटल नखुलेर उहाँहरू बस्न नपाउनुभएको हो,’ उनले भने।

बारम्बार अस्पतालले बिरामी नलिने घटना दोहोरिरहँदा समेत उनीहरूलाई जवाफदेही बनाउने पोखरामा कुनै निकाय छैन।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघीय सरकार मातहत छ।

प्रतिष्ठानका कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ।

प्रधानमन्त्री कार्यालयबाट आफू मातहतका प्रतिष्ठानमार्फत् चलेको अस्पताललाई जवाफदेही बनाउन अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन।

कोरोनाभाइरस जाँच्ने मेसिन पिसिआरसमेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको यस अस्पतालमा नराख्न प्रतिष्ठानका कुलपतिदेखि अस्पताल निर्देशक र डाक्टरले लबिङ गरेका थिए।

प्रदेशकै ठूलो अस्पतालले समेत आफूहरू कोरोना जाँच्न सक्षम नरहेको बताइरहेका थिए।

हेलिकप्टरबाट अस्पताल परिसरमा पिसिआर मेसिन झार्दासमेत अस्पतालले नजिकैको क्षयरोग उपचार केन्द्रमा लैजान लबिङ गरेका थिए।

काठमाडौंबाट मेसिनसहित आएका विज्ञ टोलीले अस्पतालकै ल्याबहलमा राख्ने भनेपछि उनीहरू पछाडि हटेका थिए।

पोखराका सरकारी र निजी अस्पतालले सामान्य रुघाखोकी र ज्वरोको बिरामीको समेत उपचार नगर्दा नागरिकहरूले सास्ती भोग्नुपरेको छ।

साभार : सेतोपाटी ( युवराज श्रेष्ठ ) 

यो पनि हेर्नुस :

सम्बन्धित खबर

Close