Headline Title onlyन्युज पोखरापोखरा

लकडाउनमा मजदुरको पिडा ! : २ दिन देखि घर जाने पास पाइएन

कामको शिलशिलामा पोखरा पसेका मजदुरलाई अहिले लकडाउनले ठुलो समस्यामा पारेको छ । पोखरानै बसौं, पैसा र खानेकुरा सबै सकियो, घर जाउँ, लकडाउनले कसरी जाने !

लकडाउनको चौथो दिन प्रशासनले पास दियो भने घर जान मिल्ने कुराले खुशी भएका धादिङको नेत्रदी गाउँपालिका ३ चौताराका अनिल सुनार दुईदिन देखि जिल्ला प्रशासन कार्यालय कास्की धाइरहेका छन्। तर उनलाई प्रशासनको गेट भित्र छिर्न नै धौधौ भएको छ ।

प्रशासनको गेटमा पहरा दिन बसेका प्रहरीले हप्काउछन्, तर पनि उनी त्यतै वरीपरी नै बसिरहन्छन् ।

उनी यसरी प्रशासनको गेट आसपासमा आइतबार र सोमबार दिनभर बसे । सोमबार विहानैदेखि लाइनमा बसे । लाइनमा बसेका अगाडीका मानिस भित्र छिर्न पायो, अनिल पाएनन् । ‘प्रहरीले समय सकिएको भन्दै एक्कासी लाइन भंग गरिदियो’ अनिलले भने ।

अनिल इट्टा बोक्ने काम गर्न एक महिनाअघि धादिङबाट पोखरा आएका थिए। उनीसँगै १५ जना जति गाउँका युवाहरु पनि पोखरा आएका छन् । धादिङकै निलकण्ठ नगरपालिका ९ का राजेश विक पनि अनिलसँगै छन् । राजेशसँग पनि १३ जना साथी छन् ।

यस्तो आपतको बेलामा परिवार संग बस्न उनीहरु घर जान चाहन्छन् । ‘लकडाउनपछि काम पनि बन्द भयो, यत्रो दिन बस्दा खानेकुरा पनि सकियो’ राजेशले भने ‘घर जान पास माग्न आएको २ दिन भयो तर पास पाइएन, प्रहरीको गाली मात्र खानुपरेको छ ।’

प्रशासनको गेटमा यसरी नै पास माग्न बसेका थिए, पर्वत पैंयु गाउँपालिका हुवासका नेत्रबहादुर सेन्चुरी । ५ बर्षदेखि पोखराका एक सुनचाँदी पसलमा काम गर्ने उनलाई आमा बिरामी परेको कारणले अहिले पर्वत जानुपर्ने भएको हो ।

‘आमा बिरामी पर्नुभछ रे, उपचार गर्नुछ, नेत्रले भने, पास माग्न आएको प्रहरीले भित्र जान समेत दिएन ।’ प्रशासनको गेटमा बस्दा प्रहरीले बसिरहेको ठाउँबाट लखेट्न खोज्छ । यता बसेको छ भने उता बस्न भन्छ । प्रेमको मन प्रहरीले गर्ने व्यवहारले दुखाएको छ ।
‘कोही कोही मान्छे सरासर भित्र जान्छ, फेरी आउँछ, उनले भने, अरु ठुलालाई जतिबेला पनि जान मिल्ने हामीलाई दिनभर बस्दा पनि नमिल्ने ?’

यता, प्रशासनले भने बाहिरी जिल्लाका मजदुर र अत्यावश्यक कामले बाहिर जान पर्ने नागरिकलाई सवारी पास दिएको बताएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पर्यटक, मजदुर र अत्यावश्यक कामका लागि हिड्नुपर्ने मानिसलाई सवारी पास दिएको बताए ।

लकडाउन भएपछि २ हजार सवारीलाई पास दिएको ढकालले बताए । अत्यावश्यक ढुवानीका सवारीलाई पास नभएपनि चल्न दिएको भन्दै उनले अरुलाई भने पास दिएर चल्न दिएको बताए । मजदुरी गर्नेलाई भित्र छिर्नै नदिएको विषयमा उनले भने, ‘प्रहरीलाई हामीले पालैपालो पठाउन भनेका छौं, कोही मर्कामा परेका रहेछन् भने हेर्छौ ।’

फोटो / भिडियो : मिलन थापा

भिडियो हेर्नुस :

सम्बन्धित खबर

Close