Headlines with imageन्युज पोखरापोखरासमाजहाम्रो देश

बाढी पहिरोबाट गण्डकी प्रदेशमा १३ जनाको मृत्यु, म्याग्दीमा उड्न सकेन उद्धार गर्न खटिएको हेलिकप्टर

गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहिबार साँझदेखि परेको अबिरल बर्षाका कारण आएको बाढी पहिरोले ठुलो जनधनको क्षेती भएको छ । बाढी पहिरोले कास्की, लमजुङ, म्याग्दी लगायतका जिल्लाहरुमा ठुलो क्षेती पु¥याएको स्थानीय प्रशासनले जनाएका छन् ।

कास्की

बाढी पहिरोका कारण कास्कीमा मात्रै ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पोखरा– १८ सराङकोटको गोठादीमा स्थानीय टंकबहादुर थापाको घर माथिबाट झरेको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा ५० बर्षीय ट.कबहादुर थापा, उनका श्रीमती ४५ बर्षीय सोममाया थापा, दमौली घर भएका ८ बर्षीय शीतल श्रेष्ठ, ११ बर्षीय इशिका थापा मगर र ६ बर्षीय सुवान थापा रहेका छन् ।

उक्त पहिरोमा परेर २२ बर्षीय पिंकी थापा, १८ बर्षीय आशा थापा मगर, ५ बर्षीय पिरिशा थापा मगर, दमौलीका २८ बर्षीय सरस्वती श्रेष्ठ, १० बर्षीय सन्देश श्रेष्ठ, छिमेकी १९ बर्षीय अनिश तामाङ, १९ बर्षीय रशी थापा र रश्मी थापा मगर घाइते भएका छन् ।

पोखरा–२५ हेम्जामा पनि गएराती पहिरोले घर पुरिदा १ जना बृद्धको ज्यान गएको छ । अचानक पहिरो आउँदा स्थानीय ७० बर्षीय वृद्धले ज्यान गुमाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

यस्तै, पोखरा २६ पैतेडाँडामा पहिरोले घर पुरिदा स्थानीय दुर्गाबहादुर सुनारको पनि मृत्यु भउको डिएसपी हमालले बताए । पोखरा १७ छोरेपाटनको सिमुलटुडा बस्ने ६० बर्षीय चन्द्रबहादुर घर पनि पहिरोले पुरिएको छ । पहिरोले पुरिदा चन्द्रबहादुर सहित उनका श्रीमती शान्ति मगर र छोरा सुशान मगर घाइते भएका छन् ।

म्याग्दी

म्याग्दीमा मात्र बाढी पहिरोले ३ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् । बाढी पहिरोमा परेर ३१ जना सम्पर्कविहिन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

म्याग्दीको धवलागिरी गाउँपालिका– ६ मराङ रिखामा घण्टीबाङ भिरबाट झरेको पहिरोमा परेर १० जना बेपत्ता भएका छन् । घटनास्थलमा प्रहरी परिचालन पठाएपनि पहिरो झरिरहेकाले पुग्न नसकेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

उक्त पहिरोले धवलागिरी गाउँपालिका ६ का भिमप्रसाद जुग्जालीको घर पुरिएको छ । घर पुरिदा भिमप्रसाद सहित उनका परिवारका ४ जना बेपत्ता छन् । सोही स्थानका धनबहादुर जुग्जालीको घर पनि पहिरोले पुरिएको छ । घर पुरिदा धनबहादुर सहित उनको परिवारका ६ जना बेपत्ता भएको प्रहरीले बताएको छ । पहिरोले स्थानीय सन्तप्रसाद पुन र हिराबहादुर जुग्जालीको घर पनि परेको र आँशिक क्षेती पुगेको डिएसपी रेग्मीले बताए ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार धवलागिरी ६ मा २१ जना, ७ मा ३ जना र मालिका ७ बिममा ८ जना पहिरोमा फसेका छन् ।
म्याग्दीकै रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० बर्षीय नलिमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ । गोठमा गाइभैसीलाई घाँसपात गर्न जादा स्थानीय लापु खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको मालिका गाउँपालिका ७ बिमदुलेमा ४० बर्षीय बिष्णु पौडेलको घर पनि गएराती पहिरोले पुरिएको छ । पहिरोले घर पुरिदा विष्णु र उनकी ४ बर्षीय छोरी इशा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको बहाब बढेको र मौसम प्रतिकुल भएको भन्दै घटनास्थलमा प्रहरी जान सकेको छैन ।

म्याग्दीमा पहिरोमा फसेका र बेपत्ता भएकाको खोजी गर्न नेपाल प्रहरी र नेपाली सेना परिचालन गरेको सिडिओ ढकालले बताए । उनीहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर अहिले म्याग्दी पुगिसकेको छ । मौसममा सुधान नआउँदा हेलिकप्टर घटनास्थल पुग्न नसकेको ढकालले बताए । उनले पोखराबाट अर्को हेलिकप्टर समेत मगाएको बताएका छन् ।

म्याग्दीमा अहिलेसम्म ८० जनाको उद्धार गरेको र बाढी पहिरो प्रभावित क्षेत्रबा २ सय ४० जना उद्धारको पखाईमा रहेको ढकालले बताए ।

लमजुङ

लमजुङको बेसीशहर ७ सातबिसेमा स्थानीय दीपक तामाङको घर पुरिदा ३ जनाको ज्यान गएको छ । गएराती पहिरोले घर पुरिादा ३२ बर्षीय दीपक, उनका श्रीमती २६ बर्षीय बिमाया तामाङ र छोरा ९ बर्षीय छोवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
पहिरोमा परेर स्थानीय २६ बर्षीय सन्तबहादुर गुरुङ, २३ बर्षीय अनिल गुरुङ र सुमन गुरुङ घाइते भएका छन् ।

यस्तै, लमजुङको क्होलासोंथर गाउँपालिका ३ बगुमका तुलबहादुर गुरुङको घर भत्किँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा बुहारी ३० बर्षीय लोकमाया गुरुङ र उनका नातिनी ३ बर्षीय आरोशी गुरुङ रहेका छन् ।

घटनामा घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फोटो : अरुण गिरी ( यो न्युजमा समावेश सम्पुर्ण फोटोहरु पोखरा १८ गोठादीमा गएको पहिरोले क्षती पुगेको स्थानको हो। )

 

सम्बन्धित खबर

Close