Headline Title onlyन्युज पोखरापोखराविजनेशविजनेश न्युजसमाज

माघदेखि खुल्ने भयो पर्यटकीय गाउँ घान्द्रुक

कोरोना भाइरसको महामारी रोक्न पर्यटकीय गाउँ घान्द्रुकले नेपालीहरुको महान चाड दशैँमा आफ्नै आफन्तलाई समेत गाउँ आउन रोकेका थियो ।

घान्द्रुकले गाउँ प्रवेशमा रोक लगाउदै दशैंमा भनेको थियो ‘हामी अन्त पनि टीका लगाउन जाँदैनौं, बाहिरबाट पनि हाम्रो गाउँ नआइदिनुहोला’।

विश्वभरिका पाहुनालाई स्वागत गर्ने घान्द्रुकेले सायद इतिहासमै पहिलो पटक कोरोना कहरका कारण आफ्नै आफन्तलाई समेत आफ्नो गाउँ आउन रोकेका थिए।

दशैंका बेला देशका अन्य पदमार्गहरू खुल्ला भैसक्दा पनि घान्द्रकु भने खुलेको थिएन। उता मुस्ताङमा पनि पर्यटक जान बञ्चित थिए।

घान्द्रुकका पर्यटन व्यवसायीले पर्यटक त के आफन्तसम्म रोकिरहेका थिए।

‘हाम्रो गाउँमा धेरै वृद्धवृद्धा बस्नुहुन्छ, गाउँहरूलाई कोरोना नलागोस् भनेर त्यस्तो अप्रिय निर्णय गरेका थियौं’, पर्यटन व्यवस्थापन समिति घान्द्रुक अध्यक्ष किसम गुरूङले भने, ‘गाउँलेको आशय बुझेर नै त्यस्तो निर्णय लिएका थियौं।’

घान्द्रुक एउटा गाउँमात्र थिएन। यो गाउँ विश्व चर्चित अन्नपूर्ण आधार शिविर पदमार्गको मुख थियो।

उता, वीरेठाँटीबाट घान्द्रुक–टाढापानी हुँदै पुनहिल पदयात्राको पनि प्रवेशद्वार थियो घान्द्रुक।

गाउँमा पर्यटक आउन निषेध गर्दा ती पदमार्गमा जाने पर्यटक समेत वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था थियो।

अब भने पर्यटकका लागि घान्द्रुक खुल्ने भएको छ।

आउँदो माघ १ गतेदेखि पर्यटकका लागि घान्द्रुक खुला गरेको पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष गुरूङले बताए।

‘अरूतिरका गन्तव्य खुलिसक्दा पनि घान्द्रुक नखुलेको भनेर धेरैतिरबाट आलोचना हामीले खेप्यौं’, गुरूङले भने, ‘कोरोना संक्रमण कहिलेसम्म रहने भन्ने निश्चित नभएपछि हामीले सबै खाले पर्यटकका लागि खुला गर्ने निर्णय गरेका छौं।’

सरकारले लगाएको लकडाउन खुलेपछि पनि स्थानीयले लकडाउन थप लम्ब्याए। लकडाउन भएको झण्डै १० महिनापछि मात्र अब घान्द्रुकका होटल र होमस्टेमा पर्यटकले बास पाउने भएका छन्। अन्नपूर्ण आधार शिविर र पुनहिल पदयात्रामा जान पाउने भएका छन्।

अन्नपूर्ण आधार शिविर पदयात्रामा जाने पर्यटकलाई छोमरोङबाट माथि लाग्न अनिवार्य पिसिआर रिपोर्ट चाहिने छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर गुरूङले बताए।

घान्द्रुकसम्म घुम्नका लागि भने पिसिआर रिपोर्ट चाहिँदैन।

स्थानीय पर्यटन व्यवसायीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका साथै स्थानीय मापदण्ड पनि बनाएका छन्।

उनीहरूले घान्द्रुक घुम्न गएका पर्यटकलाई ज्वरो आएमा उपचारका लागि पोखरा पठाउने व्यवस्था मिलाएका छन्।

पर्यटन व्यवस्थापन समितिले पोखरा पठाउने अवस्था नहुँदा गाउँमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था मिलाएका छन्।

यसका लागि उनीहरूले गाउँमै आइसोलेसन बनाएका छन्।

यसका लागि उनीहरूले गाउँको एउटा घरलाई मासिक ३० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएका छन्।

उक्त घरमा तीन वटा एटेच बाथरूम सहितको कोठा छन्। यही कोठा घान्द्रुकका पर्यटन व्यवसायीले आइसोलेसन कोठाका रूपमा प्रयोग गर्नेछन्।

बिरामीको २४ घण्टा नै हेरचाह र उपचारका लागि एक जना नर्स खटाएका छन्। ‘बिरामीलाई खाना र सुपको व्यवस्था पर्यटन व्यवस्थापन समितिले गर्नेछ’, अध्यक्ष गुरूङले भने।

व्यवस्थित रूपमा प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रम अन्नपूर्ण क्षेत्रमा घान्द्रुकबाटै सुरूआत भएको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्र बनाउन तत्कालीन राजा वीरेन्द्रले २०४१/०४२ मा तीन सदस्यीय विज्ञ टोली गठन गरेका थिए।

विज्ञ टोलीमा विश्व वन्यजन्तु कोषका तत्कालीन संरक्षणविज्ञ डा. चन्द्र गुरूङ, कोषकै एसिया प्यासिफिक प्रमुख संरक्षणविद् मिङ्मा शेर्पा र अमेरिकी संरक्षणविद् ब्रोन कोवर थिए।

उनीहरूले दिएको सुझावकै आधारमा सरकारले २०४३ मंसिर २४ गते तत्कालीन घान्द्रुक गाविसलाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गर्‍यो।

घान्द्रुकमा नमूनाका रूपमा समुदायमा आधारित संरक्षण अभियान थालियो। घान्द्रुकमा यो अभियान सफल भएपछि नै सन् १९९० मा थप १९ वटा गाविस अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापमा समेटियो।

सन् १९९२ मा अन्नपूर्ण हिमश्रृङ्खलाका अगाडि र पछाडि रहेका ५७ गाविसमा विस्तार गरे अहिलेको एक्याप बनाइएको थियो।

संरक्षण र पदयात्राका क्षेत्रमा छुट्टै पहिचान बनाएको घान्द्रुक पर्यटकका लागि खुला भएपछि छुट्टै सन्देश जाने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले बताए।

घान्द्रुक पर्यटकका लागि खुला भएसँगै अब गण्डकी प्रदेशमा पर्यटकका लागि कहीँ पनि रोकतोक नभएको उनको भनाइ छ।

महामारी भित्रिन नदिन घान्द्रुकका स्थानीयले लम्ब्याएको लकडाउान आफूहरूले हटाउन नसकेको एक्यापका निर्देशक राजकुमार गुरुङले बताए।

‘स्थानीयको निर्णयलाई हामीले हस्तक्षेप गर्न मिल्दैन’, उनले भने, ‘स्थानीयबासीको भावनाको सम्मान गर्दै एक्याप आज यो ठाउँमा आइपुगेको हो।’

पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले घान्द्रुक खुलेपछि पोखराकै पर्यटनलाई फाइदा पुग्ने विश्वास लिए।

‘अहिले पर्यटनमा मात्र होइन, सबै क्षेत्रको आर्थिक अवस्था नाजुक छ’, उनले भने, ‘अब हामीले आर्थिक चहलपहल बढाउने गरी अघि बढ्नुपर्छ।’

घान्द्रुकले पर्यटकलाई उपचारको व्यवस्था गर्न आइसोलेसनसहित गाउँ खुलाउँदा अन्यत्र पनि सुखद् सन्देश जाने भट्टराईको भनाइ छ।

पर्यटन व्यवस्थापन समितिका अनुसार अहिले घान्द्रुकमा मात्र ४० वटाभन्दा बढी होटल छन्।

घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर पदमार्गमा झण्डै ५ दर्जन होटल रहेको पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरूङले बताए।

फोटो : भुपाल कुमार गुरुङ / जक्सन डट कम

सम्बन्धित खबर

Close