Headlines with imageन्युज पोखरापोखरा

पोखरामा निषेधाज्ञा नलम्बिने,सवारीमा जोरबिजोर प्रणाली लागू

कोरोना सङ्क्रमणको जोखिमबाट बच्न पोखरा महानगरसंगै कास्की जिल्लाभर भदौ १२ गते सम्मका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञा आज राती १२ बजे पछि सकिने भएको छ । तर आज (भदौ १२) राती १२ बजे देखि नै लागू हुनेगरी २० गतेसम्मका लागि प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । प्रशासनले शुक्रबार सूचना जारी गर्दै जोरबिजोर प्रणाली लागू गर्ने उल्लेख गरेको हो।

पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । पहिलोपटक ७ गतेसम्मलाई लागु भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो । निषेधाज्ञा सकिने दिन प्रशासनले अर्को आदेश जारी गरेको हो ।

यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रोबस) सञ्चालन नगर्न प्रशासनले आदेश गरेको छ । ट्याक्सी र निजी गाडी भने जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मात्रै चलाउन भनेको छ । ‘ती साधनहरु बिहान ६:०० बजे देखि साँझ ८: ०० बजेसम्म सञ्चालन गर्न सकिने, ‘प्रशासनको आदेशमा भनिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञानप्रसाद ढकालले यो आदेश जारी गरेका हुन् । जारी आदेशमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा क्रियाकलापहरु आयोजना गर्न तथा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।

विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगाशाला, फुटसल, खेलकुद स्थल, जिमखाना फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन लगायत सेवा तथा स्थलहरु नखोल्न पनि आदेशमा भनिएको छ ।

सरकारी तथा गैरसरकारी कार्यालयहरु एवं बैंक तथा वित्तीय संस्था तथा सहकारीहरु सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ । तर सामाजिक दुरी कायम गरी भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने भनिएको छ । ‘कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योगहरु सञ्चालन गर्न सकिने,’ आदेशमा भनिएको छ ।

होटल तथा रेस्टुरेन्टहरु सञ्चालनको हकमा टेक अवे सेवा मात्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न सकिने भएको छ । प्रशासनले अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, दुई मिटरको भौतिक दुरी कायम गर्न, पटकपटक साबुन पानीले हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न पनि भनेको छ । ‘उल्लेखित प्रावधानहरुको अवज्ञा गरी सेवा तथा कार्य सञ्चालन गरे गराइएको पाइए कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ,’ आदेशमा भनिएको छ ।

सम्बन्धित खबर

Close