Headline Title onlyअन्यखेलकुदन्युज पोखरापोखराफिचर

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

पाँचौ पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक भएको छ। आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले विभिन्न चार विधामा मनोनयन गरिएको खेलाडीहरुको नाम सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

आगामी नयाँ वर्ष २०७८ बैशाख २० गते हुने पाचौं पोखरा स्पोर्टस अवार्ड २०७७ मा वर्ष पुरुष खेलाडीहरुमा कराँतेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनिया र फुटबलका सुमन अर्याल मनोनयनमा परेका छन् । वर्ष महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेको छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा स्वीमिङकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा परेका छन् ।

पोखरा स्पोर्टस् अवार्ड २०७६ विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित गरिएको थियो । खेलमा खेलाडीले देखाएको पर्फमेन्स र प्राप्त अचिभमेन्टलाई आधार मानेर ३/३ जना खेलाडी मनोनयन गरिएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मनोनित मध्ये सर्वोत्कृष्ट ठहरिने खेलाडीलाई अवार्ड प्रदान गरिने प्रतिभा छनौट समितिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले सँधै झैं यस वर्षपनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ । खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकामध्ये १ जनालाई चाँदीको करुवासहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्डका लागि प्रतिभा छनौट गर्ने क्रममै रहेको उनले बताए । ‘अर्को पत्रकार भेटघाटमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेको नामपनि सार्वजनिक गर्छौं’–उनले भने ।

मञ्चले वर्ष सर्वोत्कृष्ट खेल संघ पनि अवार्ड प्रदान गर्ने भएको छ । मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट यस वर्ष २ जना पत्रकारलाई अवार्ड प्रदान गर्ने छ । पुरस्कृत पत्रकार नाम अवार्ड वितरण समारोहमा एकैपटक उद्घोषण गरिने उनले बताए । सर्वोत्कृष्ट पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्नेलाई जनही २/२ लाख रुपैयाँ, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्च कास्कीले जनाएको छ । त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ तथा वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार बिधामा अवार्ड प्राप्त गर्नेलाई नगद ३५/३५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने जनाइएको छ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close