
क्रिश्चियानो रोनाल्डो तथा उनका एजेन्ट जर्ज मेन्डिसले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलका दुई अस्पतालका तीन आइसियू इकाइलाई १०.०८ लाख अमेरिकी डलर ( १ मिलियन युरो ) सहयोग प्रदान गरेका छन्।
उनीहरूले गरेको सो सहयोग लिस्वनमा रहेको सान्टा मारिया अस्पताल र पोर्टोमा रहेको सान्टो एन्टोनियो अस्पतालमा चाहिने अत्यावश्यक उपकरण किन्न उपयोग हुनेछ।
मंगलबार लियोनेल मेसी र पेप गार्डियोलाले पनि स्पेनको बार्सिलोना शहरमा रहेका अस्पतालका लागि जनही १-१ मिलियन युरो सहयोग गरेका थिए।
‘हामीलाई जर्ज मेन्डिसले सम्पर्क गर्नुभएको थियो, उहाँले क्रिश्चियानो रोनाल्डोसँग मिलेर हाम्रो अस्पतालको दुई इकाइमा कोभिड-१९का विरामीका लागि बनाइएको आइसियूलाई सहयोग गर्नुभयो’, सहयोग पाएपछि सान्टा मारिया अस्पतालका अध्यक्ष ड्यानियल फेरोले भने।
रोनाल्डोका एजेन्ट मेन्डिसले यसअघि पोर्टोमा रहेको सो जुओ अस्पताललाई एक हजार मास्क र दुई लाख सुरक्षात्मक गाउन दिएका थिए। यसैगरी उनले पोर्चुगलभर बाँड्नका लागि आठ वटा भेटिलेटरको अर्डरसमेत गरेका छन्।