Headlines with imageUncategorizedन्युज पोखरापोखरामनोरन्जनमनोरन्जन समाचार

गुरुङ चलचित्र अब नियमित हलमा प्रदर्शन हुने; निस्कियो २० चलचित्रको प्रदर्शन तालिका

पोखराका स्थापित निर्देशक माओत्से गुरूङले दुई वर्षअघि निर्माण थालेको गुरूङ चलचित्र ‘शिरसुबा’ बनेको पनि वर्ष दिन बित्यो। लकडाउन हुँदैनथ्यो भने उक्त फिल्म गत वर्षको वैशाखमै च्यारिटी शो हुने थियो। कोरोना महामारी रोक्न जब चैतदेखि लकडाउन भयो, अहिलेसम्म उक्त चलचित्र प्रदर्शन हुन पाएको छैन।

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा छायाङ्कन गरिएको चलचित्र शिरसुबाको पहिलो शोआइतबार घान्द्रुकमै प्रदर्शन हुँदैछ। ‘प्रदर्शनका लागि हामी घान्द्रुक पुगेका छौं’, निर्देशक गुरूङले भने, ‘कोरोना महामारीका कारण यो चलचित्रको प्रदर्शन डेढ वर्ष पछि धकेलियो।’

नेपाली, हिन्दी र अंग्रेजी भाषाको चलचित्र झैं गुरूङ वा अन्य भाषा–भाषीका चलचित्र यसअघि हलमा नियमित प्रदर्शन हुन सकेका थिएनन्। भाषा–भाषीका चलचित्रका निर्माता, निर्देशक, कलाकारलगायत घरघरमा पुगेर टिकट बेच्नुपर्ने अवस्था यद्यपी छ। चलचित्र बनाइसकेपछि पनि दर्शक खोज्दै हिँड्नुपर्ने अवस्थाबाट गुरूङ चलचित्र निर्माता तथा निर्देशक मुक्त हुन चाहेका छन्।

नेपाली चलचित्र पश्चात नेपालभित्र धेरै निर्माण हुने गुरूङ चलचित्रका निर्माता निर्देशकले अब आफ्ना फिल्म पनि हलमै नियमित प्रदर्शन गर्ने भएका छन्। गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)ले पोखराको मिडटाउन ग्यालेरियासँग समन्वय गरेर नियमित प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष भोजबहादुर गुरुङले बताए।

‘चलचित्र निर्माताले घरघरमा पुगेर महँगोमा टिकट बेच्नुपर्ने, आफ्नो समुदायमा मात्र सिमित हुनुपर्ने र चलचित्र प्रदर्शन व्यवस्थित नहुने हुँदा अब हामी नियमित रुपमा हलमै प्रदर्शन गर्ने निर्णयमा पुगेका छौ’, अध्यक्ष गुरुङले भने, ‘हलमा नियमित प्रदर्शन गर्दा गुरुङ फिल्मको विस्तार र विकास हुने अपेक्षा लिएका छौं।’

उनले यहीँ माघ २३ गतेदेखि पोखराको सभागृहचोक स्थित मिडटाउन ग्यालेरियामा नियमित रूपमा गुरुङ चलचित्र प्रदर्शन हुने बताए। चलचित्र प्रदर्शन गर्न मिड टाउन ग्यालेरियाका संचालकसँग मध्यान्ह १२ बजे र दिउँसो २ बजेको समय लिएको गुरुङले बताए। उनका अनुसार माघ २३ गतेदेखि आगामी असार ५ गतेसम्मका लागि फिल्मको तालिका बनिसकेको छ।

निर्देशक माओत्से गुरूङले निर्देशन गरेको चलचित्र ‘शिरसुबा’ र ‘मनको बाबरी’ आगामी वैशाख र जेठमा प्रदर्शन हुनेछन्। चलचित्र प्रदर्शनको शुरुवातमा जसु गुरुङले निर्देशन गरेको चलचित्र कर्म क्याँ अर्थात कर्मको बाटो प्रदर्शन गरिने छ। उक्त चलचित्रले २०७३ को आदिबासी जनजाती चलचित्र महोत्सबमा ‘पब्लिक च्वाइस अवार्ड’ र चलचित्र विकास बोर्डबाट प्रोत्साहन पुरस्कार समेत जितेको थियो।

त्यसपश्चात माओत्सेतुङ गुरुङले निर्देशन गरेको चलचित्र ‘म्हि न्होर्बै ट अर्थात आखा भित्रको फुल प्रदर्शन हुने छ।

प्रत्येक चलचित्रलाई एक साताको समय दिइएको छ। आगामी असारसम्म रिजे नाशा, सम्बन्धको डोरी, सिमी नाशा, युके सुइटर, प्रें सोना, स्यु रु, तमुस्यो, सबन मु, म्ले क्यु, समीङ्ही, टुकी, साली भेना, फुङ, ङोल्स्यो माया, मैरीमु, तिमी नभए लगायत चलचित्र प्रर्दशन हुनेछ।

जिफानका अध्यक्ष समेत रहेका मुनाल फिल्म्सका निर्देशक भोजबहादुर गुरुङले निर्देशन गरेको चलचित्र मैरिमु अर्थात संझिरहेको छु फिल्म यसअघि हलमा नियमित प्रदर्शनमा राखिएको थियो। तीन बर्षअघि पोखराकै बाराही हलमा एक हप्तासम्म प्रदर्शन गरेपनि त्यसपछि अन्य गुरुङ भाषाका फिल्म भने नियमित प्रर्दशनमा गएनन्। अन्य मुलधारको फिल्ममा झैं एक सय रुपैया टिकट शुल्क राखेर प्रदर्शन गर्दा दर्शकले साथ दिएको गुरुङ बताउँछन्।

‘त्यतिबेला रिस्क लिएको थिएँ’, गुरुङले भने, ‘ठुलो अपेक्षा लिएर प्रदर्शनमा गएको थिइन तर दर्शकको राम्रै प्रतिक्रिया पाए।’ अहिले पनि गुरुङ चलचित्रका निर्मातादेखि कलाकार र प्राविधिक समेत समेटिएको संस्था जिफानले संस्थागत निर्णय गरेरै गुरुङ चलचित्र नियमित प्रदर्शन गर्ने निर्णय गरेका हुन्।

यसअघि च्यारिटी शोमा गुरुङ फिल्म हेर्न ५ हजार रुपैयादेखि ५ सय रुपैयासम्म टिकट किन्नुपथ्र्यो। निर्माता, निर्देशक र कलाकार नै टिकट बेच्न दर्शकको घरदैलोमा पुग्नुपथ्र्यो भने प्रदर्शनका लागत उठाउन आँफै आर्थिक संकलन गर्नुपर्ने अवस्था थियो। नियमित प्रदर्शनमा दर्शकलाई बानी पार्न सके यो झण्झटबाट मुक्त हुने र गुरुङ चलचित्र सबै दर्शकको पहुँचमा पुग्ने जिफानका अध्यक्ष गुरुङले बताए।

नेपाली चलचित्रमा समेत छुट्टै पहिचान बनाएका निर्देशक एवं अभिनेता माओत्से गुरुङले नियमित प्रदर्शन गरेपनि अहिल्यै दर्शक आउने सम्भावना नरहेको बताए। नेपाली र हिन्दी चलचित्रका निर्माता तथा निर्देशकले समेत चलचित्र प्रदर्शन गर्न नचाहेको कोरोना महामारीको यस समयमा दर्शक हलमा आउन डराउन सक्ने उनको भनाई छ।

गुरुङ फिल्मलाई नियमित रुपमा हलमा प्रदर्शन गर्ने निर्णयको असर तत्काल नदेखिएपनि अब दीर्घकालिन रुपमा हलमै पुगेर फिल्म हेर्नुपर्ने वातावरण सिर्जना गर्न चाहेको उनको भनाई छ। ‘यो एउटा शुरुवात हो, अब घरघरमा टिकट बेच्न नपरोस्’, निर्देशक गुरुङले भने, ‘अहिल्यै मारामार दर्शक नआएपनि हलमै गएर फिल्म हेर्न दर्शकलाई बानी पार्नुपर्छ।’

गुरुङ भाषाको फिल्म बन्न थालेको २५ बर्ष पुरा भएको छ। २०५२ सालमा प्रितम गुरुङले निर्देशन गरेको चलचित्र ‘पाते’बाट शुरु भएर अहिलेसम्म १४४ वटा गुरुङ फिल्म निर्माण भइसकेका छन्। यी सबै फिल्म च्यारिटी शोको भरमा चलेका थिए। ‘रजत वर्षपछि अब हामी हलमा आइपुग्यौं’, जिफानका अध्यक्ष गुरुङले भने, ‘हलमा फिल्म हेर्ने दर्शकको प्रतिक्रियाले गुरुङ फिल्मलाई माथी उठाउनेछ।’

मिड टाउन ग्यालेरियाका संचालक उत्तम द्धाले स्थानीय चलचित्र प्रदर्शन गर्दा स्थानीय दर्शक र चलचित्रकर्मीलाई फाइदा पुग्ने बताए। कोरोना भाइरसको महमारीका कारण ९ महिनादेखि बन्द रहेको हलमा स्थानीय चलचित्र प्रदर्शन गर्दा स्थानीय दर्शक आउने अपेक्षा गरेको उनले बताए।

कोरोना महामारी पश्चात समान्य अवस्था आएपछि पनि गुरुङ चलचित्र नियमित प्रदर्शन गरिने समेत द्धाले बताएका छन्। गुरुङ चलचित्र हेर्नका लागि नेपाली फिल्ममा जस्तै ३५० रुपैया टिकट शुल्क तोकिएको छ। उक्त टिकटबाट ५ प्रतिशत मनोरञ्जन कर र १३ प्रतिशत भ्याट तिरेर बाँकी रहेको रकम फिल्म हल र चलचित्र निर्माताले आधा–आधा बाँडेर लिने सहमति भएको जिफानका अध्यक्ष गुरुङले जानकारी दिए।

चलचित्र पत्रकार संघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा गुरुङ चलचित्रका निर्माता, निर्देशक तथा कलाकारले अब घरघरमा टिकट बेच्न आउने भन्दा पनि दर्शक आफै हलमा आएर फिल्म हेर्न आग्रह गरेका थिए।

सो अवसरमा बोल्दै संघका अध्यक्ष अरुण गिरीले च्यारिटी शोमा सिमित भएको गुरुङ चलचित्र हलमा नियमित प्रदर्शन गर्ने निर्णय क्रान्तिकारी निर्णय भएको बताए। बलियुडको प्रतिश्पर्धामा भारतका क्षेत्रीय चलचित्र आएको भन्दै उनले नेपाली फिल्मको प्रतिश्पर्धीका रुपमा गुरुङ चलचित्र स्थापित हुन सक्ने बताए।

गुरूङ चलचित्र ‘ढ्याङ्ग्रो’ निर्माण घोषणा

गुरुङ चलचित्र हलमा प्रदर्शन गर्न आयोजित पत्रकार भेटघाटमा पोखराको भकारी इभेन्ट प्रालिले नयाँ गुरुङ चलचित्र निर्माण गर्ने घोषणा गरेको छ। कोरोना भाइरसको महामारीको विषयमा चलचित्र निर्माण गर्न लागेको भकारी इभेन्टका निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिए। उनका अनुसार चलचित्र निर्माण गर्न ३५ देखि ४० लाख रुपैया लागत अनुमान गरिएको छ। उक्त चलचित्र पोखराको भलाम र डाँडागाउँमा छायाङ्कन गर्ने तयारी गरेको निर्देशक गुरुङले बताए।

फोटो :- सचिन ठकुरी मल्ल

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close