
‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिवियो’ तथा ‘प्रेमगीत-३’का लेखक छेतेन गुरूङको निधन भएको छ।
उनी ४२ वर्षका थिए।
पछिल्लो समय ‘प्रेमगीत-३’मा लेखनसँगै निर्माता सन्तोष सेनसँग संयूक्त रूपमा सिनेमा निर्देशन गरेका गुरूङको आज २ बिहान निधन भएको हो।
‘प्रेमगीत-३’का कार्यकारी निर्माता चक्रबहादुर चन्दले गुरूङको उपचारका क्रममा महारागंजस्थित मेट्रो हस्पिटलमा निधन भएको हो।
मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि सोमबार निर्माता सन्तोष सेन र आफूले सोमबार उनलाई अस्पताल लगेको चन्दले सेतोपाटीलाई जानाकारी दिए।
‘उहाँलाई मिर्गौलासम्बन्धी समस्या पहिलादेखि नै थियो,पछिल्लो समय उहाँको कलेजोले पनि पूर्णरूपमा काम गर्न छोडेको थियो। डाक्टरहरूले हामी प्रयास गर्छौ त भन्नुभएको थियो तर त्यसो हुनसकेन’, उनले भने।
चन्दका अनुसार उनकी आमा र एक छोरी छन् भने श्रीमतीको केही वर्ष पहिला नै निधन भइसकेको छ।
छेतेन लिखित तथा निर्देशित ‘प्रेम गीत-३’ रिलिज हुन बाँकी छ।
‘नोभेम्बर रेन’बाट सिनेमा लेखकका रूपमा नेपाली रजतपटमा प्रवेश गरेका छेतेनले खगेन्द्र लामिछाने अभिनित तथा निर्मित ‘डमरूको डण्डिबियो’बाट निर्देशनमा डेब्यू गरेका थिए।